![]() |
| - लक्ष्मणदत्त पन्त |
दोस्रो विश्वयुद्धपश्चात् अर्थात् सन् १९५० को दशकमा विकास पत्रकारिता र विकास सञ्चारले मनग्य चर्चा पाएको देखिन्छ । दोस्रो विश्वयुद्धपछि ल्याटिन अमेरिकी, एसियाली र अफ्रिकी मुलुकहरूले गरिवी, निरक्षरता, कमजोर स्वास्थ्य तथा आर्थिक, राजनीतिक र सामाजिक पूर्वाधारहरूसँग गर्नुपरेको पीडादायी संघर्षबारेको सूचना सञ्चारमाध्यममार्फत सम्प्रेषणका लागि गरिएको प्रयासबाट नै विकास पत्रकारिताले मौलाउने अवसर पाएको हो ।
विकासका लागि सञ्चारको भूमिका एकदमै महत्वपूर्ण मानिन्छ । कारण आम मानिसले सूचनाको प्रयोग केवल आफ्नो समस्याको गहिराई बुझ्न मात्र हैन बरू एकअर्कासँग अन्तरक्रिया गर्ने र समस्याको समाधान खोज्नसमेत गर्छन् । नेपालका सन्दर्भमा भने सञ्चार क्षेत्रमै विकासवारेको बुझाइ नै कमजोर छ । फलस्वरूप सञ्चारमाध्यमहरूले नेपाली समाजको रूपान्तरण वा विकासमा ठोस योगदान पु¥याउन सकिरहेका छैनन् । अर्कोतिर नेपाली समाजमा बौद्धिक पूर्वाधार जस्तो कि साक्षरता र शिक्षाको गुणस्तरसमेत उदेकलाग्दो छ । सञ्चारकर्मीले पस्किने सूचना र आम पाठकले त्यसलाई उपभोग गर्ने शैलीवीच तालमेल नहुदा विकास सञ्चार वा पत्रकारिताले मौलाउने अवसर पाएको छैन । समग्रमा नेपाली समाज निरक्षरताबाट गुज्रिरहेको छ ।
विकासम्बन्धी सञ्चारविज्ञहरू विकास पत्रकारिताले गरिव, निमुखा, वञ्चित र पछाडि पारिएका आममानिसहरूको आवश्यकतामा जोड दिनुपर्ने र उनीहरूलाई विकासको योजनामा प्रभावकारी रूपमा सहभागि गराउने विषयमा सचेत र एकमत छन् । सन् १९६७ मा पहिलोपटक विकास पत्रकारिता शब्दको प्रयोग गर्ने एलन चल्क्लीका विचारमा “विकास पत्रकारिताको लक्ष्य पाठकलाई विकासबारे सूचना र तथ्य पस्किनु हो । त्यसो त सबैखाले राष्ट्रिय विकास आर्थिक विकासमा भर पर्दछ । विकास पत्रकारले आर्थिक सूचकबारे जानकारी लिनु पनि अनिवार्य छ । यसका लागि विकास पत्रकारले सरल शब्दहरूको प्रयोग गर्नु जरूरी हुन्छ । जटील शब्दहरूको प्रयोगले विकासबारेको समझदारीमा समस्या सिर्जना गर्दछ”। भिलानिलम (सन् १९७५) का अनुसार “विकास पत्रकारिता विकासोन्मुख राष्ट्रहरूका लागि गरिने विकासको प्रक्रियाका तत्वहरूको विश्लेषणात्मक अध्ययन हो ।” विकास पत्रकारिताका अर्का विज्ञ रोगर्सका अनुसार विकास पत्रकारिता जनताले आफ्नो जीवनशैली परिवर्तन गर्न गरेको प्रयासमाथिको जोड हो । चाहे त्यो प्रयास उनीहरू सरकारसँगै गरून वा एक्लै (रोगर्स सन् १९८६) । अर्का विज्ञ ओगन (१९८२) भने केही फरक र तर रोचक रूपमा विकास पत्रकारितालाई यसरी प्रस्ट पार्छन् : विकास पत्रकारिता विकाससम्बन्धी समसामयिक कार्यक्रम र गतिविधिबारेको समीक्षात्मक अवलोकन हो । यहाँ पत्रकारले विकासका कार्यक्रमले आमपाठकलगायत सरोकारवाला सवैमा पार्ने प्रभावबारे आलोचनात्मक निगरानी गर्दछन् । विकाससम्बन्धी समाचारले विकासबारे राम्रो र नराम्रो दुवै विषयका कथा सम्प्रेषण गर्नुपर्दछ । समग्रमा विकासका कार्यक्रमले आममानिसको जीवनशैलीमा पार्नसक्ने प्रभावको अवलोकन र ती कार्यक्रम सफल वा असफल हुनुको कारणको खोजी गरी समाचार सम्प्रेषण गर्नु नै विकास पत्रकारिता हो (ओगन सन् १९८२ ः ३–१३ ) ।
विकास पत्रकारिताको अवधारणाबारे दर्शनशास्त्रीय व्याख्या पनि हुने गरेको छ । विकास पत्रकारिताको आम परिभाषाभन्दा केही पृथक विचार राख्छन् प्रसिद्ध भारतीय पत्रकार निखिल चक्रवर्ती (१९८३) । परिश्रममार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने मानिसका कथाहरू विकास पत्रकारिताका मुख्य मुद्दा हुनुपर्नेमा जोड दिदै चक्रवर्ती भन्छन् : विकास पत्रकारिता विकासका मुद्दाको एकहोरो समाचार सम्प्रेषण मात्र होइन । यो त परिश्रमी हातहरूले राष्ट्रलाई सम्बृद्ध बनाउन खर्चिएको पसिनाको अवलोकन हो । पसिना चुहाउँदै देशका लागि सम्पतिको आर्जन गर्ने परिश्रमी हातहरूलाई विकासको मूलधारमा ल्याउन मिडियाले समीक्षात्मक समाचार पस्किनु पर्दछ । विकास पत्रकारले आम मानिसको मिहेनतमा विश्वास गर्नुपर्दछ । त्यसो भएको खण्डमा उसले आम मानिसका सुखदुःखमा समेत साथ दिनसक्दछ ।
समय, संस्कृति, दर्शन र भूगोलका आधारमा विकास पत्रकारिताका भिन्नभिन्न परिभाषाहरू उद्धृत छन् । धेरैजसो विज्ञले विकासलाई प्रक्रियाको रूपमा लिदै पत्रकारिताको अभ्यासलाई पनि प्रक्रियाकै रूपमा ब्याख्या गरेका छन् । परिभाषा जसरी गरिएपनि विकास पत्रकारिता आममानिसका लागि गुणस्तरीय जीवनशैली कायम गर्न विकासको प्रक्रियामा केन्द्रित हुनुपर्दछ । विकास पत्रकारिताले जनतासँग सरोकार राख्दछ । जनताले आफ्नो जीवनशैली सुधारका लागि सरकार, समाज र अरू सरोकारवालाहरूसँग गर्ने बार्गेनिङबारेको निगरानी नै विकास पत्रकारिताको मुख्य एजेण्डा हो । विकास पत्रकारिताको महत्वपूर्ण पक्ष भनेको नयाँ विधि र प्रविधिको प्रयोग गरी आफु र समाजलाई सहयोग पु¥याउने व्यक्तिका सफलताका कथाहरू सम्प्रेषण गर्नु नै हो ।
विकास पत्रकारिताको क्षेत्र
विकास पत्रकारिताको क्षेत्र निकै बृहत् छ । सामान्यतया सडक निर्माण, अस्पताल र विद्यालयको स्थापना, विजुलीबत्तीको उपलब्धताजस्ता पूर्वाधारसँग जोडिएका विषयको समाचार सम्प्रेषणलाई विकास पत्रकारिताका विषयहरू भनी पत्रकार र आम मानिसले अथ्र्याउने गर्दछन् । यद्यपी विकासका मुद्दा यतिमै सीमित भने छैनन् । विकास एक समग्र अवधारणा हो । यो पूर्वाधार र मानव उत्थान दुवैसँग जोडिएको छ । विकास पत्रकारिताका क्षेत्रहरूलाई निम्नानुसार प्रस्ट्याउन् सकिन्छ :
1. सामाजिक, सांस्कृतिक, आर्थिक तथा नीतिगत तत्वहरू जसले समाज विकासको दिगोपनमा प्रभाव पारिरहन्छ
2 गरिबी निवारणका विषय, निरपेक्ष तथा सापेक्ष गरिबी र गरिबी निवारणका लागि गरिएको तयारी र त्यसको सुरक्षा सञ्जाल
3. सामाजिक समूह र वर्ग, शक्ति सम्बन्ध, लैङ्गिक तथा जातीय वा क्षेत्रीय सम्बन्धले सिर्जना गरेको असमान सामाजिक सम्बन्ध
4 मानव विकासका मुद्दाहरू जस्तो कि राजनीतिक स्वतन्त्रता र लोकतन्त्र, मानवअधिकार, निशस्त्रीकरण
5 जनमुखी विकास, सशक्तिकरण, परिचालन, सहभागितामूलक योजना र मूल्यांङ्कन, नगद वा जिन्सी योगदानमा आमजनताको सक्रिय सहभागिता
6 स्थानीय, क्षेत्रीय र राष्ट्रिय तहमा व्यवस्थापन, प्रविधि चयन र जवाफदेहिताका लागि संस्थागत विकास
7. वातावरणीय संरक्षणका लागि वातावरणीय प्रभाव, प्राकृतिक स्रोत व्यवस्थापन ।
8 राजनीतिक अस्थिरता, द्धन्द्ध वा युद्ध, प्राकृतिक प्रकोप वा सरकारको लापरवाहीका कारण सिर्जित भोकमरीका विषय
9 शिक्षामा आम मानिस, बालवालिकाको पहुँचका मुद्दा
10 मानव स्वास्थ्यसँग सम्बन्धित विषयहरू
11 विकासका लागि गरिने लगानी, राहत, अन्तराष्ट्रि«य सम्बन्ध वा साझेदारी ।
विकास समाचार सरकारले विकासका पूर्वाधारहरू जस्तो कि पुल वा अस्पताल वा साना विकास परियोजना निर्माणका लागि गरेको योगदानको प्रशंसा होइन । मन्त्रीले विकासबारे गर्ने भाषणका लागि दुई पङक्ति लेख्नु पनि विकास समाचार मानिदैन । विकाससम्बन्धी गतिविधिले आम जनताको जीवनमा पर्नसक्ने प्रभावका बारेमा विश्लेषणात्मक सूचनाको सम्प्रेषण नै विकास समाचार हो । विकास समाचार मुलतः आर्थिक गतिविधिसँग सम्बन्धित छ र यसले आर्थिक सूचकहरूको व्याख्या गर्दछ ।
विकास पत्रकारिता किन ?विकास पत्रकारिताका विभिन्न परिभाषाहरूले विकासका एजेण्डाको अवलोकन र समीक्षात्मक प्रस्तुतिमा जोड दिएका छन् । विकास पत्रकारिताको अन्तिम लक्ष्य सञ्चारमाध्यममार्फत आम मानिसको जीवनस्तर उकास्नु नै हो । आयस्रोतमा बृद्धि, सामाजिक अन्यायको उन्मुलन, भूमि सुधार, अभिब्यक्ति स्वतन्त्रताको संरक्षण, फुर्सदमा मनोरञ्जनका लागि सामुदायिक केन्द्रहरूको स्थापनामा सहयोग आदि विकास पत्रकारितामार्फत पैरवी गरिनुपर्ने विषय हुन् । समग्रमा समान र सहभागितामूलक समाजको स्थापना नै विकास पत्रकारिताको लक्ष्य हो ।
विकास पत्रकारिता विकासका कार्यक्रमहरूमार्फत पहुँच नहुनेलाई विकासको मूलधारमा ल्याउने र उनीहरूका आवाज नीति निर्माण तहसम्म पु¥याउने सवैभन्दा उपयुक्त भ¥याङ पनि हो । विश्वब्यापी मान्यताअनुसार मिडियाको पहिलो कार्य आममानिसलाई सूचित र शिक्षित गर्नु हो । मिडियाले कार्यपालिका वा सरकार, विधायिका वा संसद् र न्यायपालिकाको कामको रेखदेख र निगरानी पनि गर्दछ । नेपालजस्तो विकासोन्मुख देशका लागि त मिडियाको भूमिका अझै महत्वपूर्ण छ ।
नेपाली मिडियाका समस्या र विकास पत्रकारिता सरकारका सम्बद्ध निकाय, तालिम र विकास संस्थाहरू, पत्रकारिता अध्ययन अध्यापन गराइने शैक्षिक संस्थाहरूले पत्रकारका लागि समयसमयमा तालिम र अभिमुखीकरण कार्यक्रम आयोजना गर्नु आवश्यक छ । नेपालमा धेरैजस्तो पत्रकारले क्षमता अभिवद्धि गर्न पाएका छैनन् । पत्रकारिता गर्दै सिक्ने परम्परागत सोचाइका कारण पनि विकास पत्रकारिता जस्तो अति सम्वेदनशील विषयका बारेमा अपेक्षाकृत विकास हुन सकेको छैन । अर्कोतिर ठूला भनिएका प्रकाशन वा प्रशारण गृहहरूले पत्रकारलाई बिशिष्टीकृत विषयप्रति आकर्षित गर्न सकेका छैनन् । पत्रकारले आफ्नो क्षमता वृद्धिका लागि बाह्य संस्थाहरूप्रति भर पर्नुले नेपालमा अझै पत्रकारिता पेशा भइनसकेको स्पस्ट हुन्छ ।
परिकल्पनाभन्दा वास्तविकतालाई महत्व दिने र बृहत् रूपमा सूचनामार्फत आम मानिसको सेवा गर्ने हुनाले प्रेसलाई सामाजिक जीवनको अभिन्न अङ्ग मानिन्छ । त्यसो त विचार र सूचनाको खुल्ला आदानप्रदानको लागि समेत प्रेसको उपस्थिति अनिवार्य छ । नेपालजस्तो विकासोन्मुख देशका लागि त आम मानिसलाई विकासको मूलधारमा हिस्सेदार बनाउन प्रेसको भूमिका महत्वपूर्ण छ । विकासका मुद्दालाई प्राथमिकता दिई नेपाली मिडियाले समाज र राष्ट्रलाई सम्बृद्ध बनाउन विशेष योगदान पु¥याउन सक्दछ । सवै पेशा र व्यवसायमा संलग्नले प्राय आफ्नो व्यवसायको मर्यादाका लागि आचारसंहिता बनाएका हुन्छन् । संविधान वा कानुनजस्तो सजायको व्यवस्था नभएपनि नैतिक बन्धन र सामाजिक उत्तरदायित्वका कारण आचारसंहिता महत्वपूर्ण मानिन्छ । समाजको ऐना मानिने पत्रकारिता पेशालाई पनि मिडिया नीतिशास्त्रले नै निर्देशित गरेको हुन्छ। त्यसो त पत्रकार आचारसंहिता मिडिया नीतिशास्त्रकै सिद्धान्तबाट अभिप्रेरित छ । सत्यता, शुद्धता, बस्तुनिष्ठता, निस्पक्षता र जनउत्तरदायित्व पत्रकारिताका विश्वब्यापी सिद्धान्त हुन् । विकाससम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारले पनि यी नै विश्वब्यापी सिद्धान्तहरूको पालना गर्नु पर्दछ ।
अहिले नेपाली मिडिया द्धन्दकै चपेटामा भए पनि बिस्तारै बहुसंस्कृतिवाद, नागरिक तथा सामुदायिक जवाफदेहिताको विविध प्रंसगहरूले यसलाई व्यावसायिक बनाउने दिशातर्फ संकेत भने अवश्य नै गरेको छ । सार्वजनिक सरोकारका मुद्दामा जनताले जान्न पाउने अधिकारको सुरक्षा लोकतान्त्रिक व्यवस्थाको अनिवार्य शर्त हो । पत्रकारितामा सरकारी नियन्त्रण वा नियमनले भन्दा पनि स्वनियन्त्रण र नियमनले बढी महत्व राख्दछ । नेपालको सन्दर्भमा भने इतिहासले सरकारी नियमनको उपस्थिति अनिवार्य ठहर्याएको छ । नेपाली मिडिया अधिकारको खोजीमा बढी र उत्तरदायित्वको पालनामा कम सचेत भएको र आफ्नो बुझाईकै आधारमा पत्रकारितालाई परिभाषित गर्ने यथार्थका कारण नेपाली समाजमा पत्रकारहरूले अपवादबाहेक जनलोकप्रियताको उपाधि पाउन सकेका छैनन् । जोकोहीले पनि पत्रकारिता गरिरहदासम्म समाजले पत्रकारितालाई मर्यादित पेशाको रूपमा हेर्नै सक्दैन । विकास पत्रकारिता सामान्य पत्रकारिता होइन । विकासका सूचकहरूको ज्ञान, विकासका सिद्धान्त, विकासको अर्थराजनीति, विकासका चुनौती र समाचार सम्प्रेषणमा विशेष दखल नहुदासम्म विकास पत्रकारिताको मर्यादित विकास पनि हुन सक्दैन । विकास पत्रकारितामा लाग्न चाहनेले तालिम र शिक्षा लिई प्रवेश गरे समाज विकासका लागि नवप्रवेशीले उल्लेखनीय योगदान पु¥याउने विषयमा शंका नरहला ।
निष्कर्ष विकास पत्रकारिता सामान्य किसिमको पत्रकारिता होइन । विकासका मुद्दामा काम गर्ने पत्रकारले गहन अध्ययन र अनुसन्धान गरी सामान्य लाग्ने विषयहरूलाई समेत जनजनको जीवनसँग जोडन सक्नु आजको नेपाली पत्रकारिताको आवश्यकता हो । विकास पत्रकारले समाचारमा विकासका योजना, परियोजना, नीति, समस्या र मुद्दाहरूको समीक्षात्मक रूपमा मूल्याङ्कन र व्यांख्या गर्न सक्नु पर्दछ । सरकार, स्थानीय गैरसरकारी संस्था, अन्तरराष्ट्रिय दातृ संस्था र विकासका सरोकारवालाहरूले तयार गर्ने योजना र ती योजनाको वास्तविक कार्यान्वयन भएनभएको बारे समीक्षात्मक र विश्लेषणात्मक टिप्पणी गरी विकास पत्रकारले सर्वसाधारणलाई विकासको मूलधारमा सहभागी गराउन अतुलनीय योगदान पु¥याउन सक्दछन् । आधुनिक समाजमा मिडियाले विकासका लागि महत्वपूर्ण योगदान गर्नसक्छ । विकास पत्रकारिताले वस्तुनिष्ठतालाई अस्विकार गर्दैन । यद्यपी विकास पत्रकारका लागि सामाजिक र राष्ट्रिय विकास प्रमुख एजेण्डा हुन्छन् ।
विकाससम्बन्धी रिर्पोटिङबारे तालिम, शिक्षा र जनशक्तिको अभाव र विकासका मुद्दामा कमजोर सम्पादकीय निगरानी नेपालमा अहिलेको विकास पत्रकारिताका समस्या हुन् । मिडिया गृहहरूसँग सीमित आर्थिक स्रोतका कारण पूर्वाधारसँग सम्बन्धित विकासबारे रिर्पोटिङ गर्न गैरसरकारी र दातृ संघसंस्थामा निर्भर रहनु परेको अथार्थ पनि नेपाली मिडिया सामु छ । त्यसो त विकाससम्बन्धी मुद्दा लगानीकर्ताको कम रूचीको क्षेत्र मानिन्छ । वर्षौदेखि नेपालमा पत्रकारिता पेशा कम, रूचि बढी भएको तथ्य पनि कसैबाट लुकेको छैन । विशिष्टिकृत पत्रकारिता शून्य प्रायः हुदाँ आवश्यकता भइकन पनि विकास पत्रकारिताले मौलाउने अवसर पाएको छैन् ।
अहिले नेपालमा सबैखाले विशिष्टकृत विषयको पत्रकारिता गर्ने व्यावसायिक वातावरण निर्माण भइसकेको नभएपनि विकासमा मुद्दामा कार्य गर्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरूको उल्लेख्य उपस्थिति छ । नेपाल सरकार र अरू सरोकारवालहरूको समेत विकासका एजेण्डामा स्वार्थअनुसारको रूची छ । नेपालका नदीनाला र प्राकृतिक स्रोतमाथि बहुराष्ट्रिय कम्पनीहरूले प्रशस्त चासो राखिरहेका छन् । यस्तो अवस्थामा मुलतः नेपालका मूलधारका पत्रपत्रिका, टेलिभिजन च्यानलहरू र ग्रामीण भेगमा एफ.एम. रेडियो स्टेशनहरूले विकासका एजेण्डालाई दिनहुँजसो प्राथमिकताका साथ प्रकाशन प्रसारण गरे विकास पत्रकारिताको विकासमा समेत थोरबहुत योगदान पुग्ने देखिन्छ ।
समाचार कक्ष र सम्पादकीय प्रमुखहरूले विकास विकाससम्बन्धी योजना, परियोजना, नीति, समस्या र मुद्दाको समीक्षात्मक व्याख्या, मूल्याङ्कन र अवलोकनका लागि सम्वाददातालाई अभिप्रेरित गर्नु पनि उत्तिकै आवश्यक छ । सूचनको खोजीमा हिडने पत्रकारले समेत योजना र कार्यान्वयन पक्षमाथि निगरानी, अरू क्षेत्र वा देशको तुलनात्मक अध्ययन, विकास प्रक्रियाबारे समयसापेक्ष र समसामयिक जानकारी र विकासको भविष्यबारे विश्लेषण गर्न जिज्ञासु र अध्ययनशील हुनु जरूरी छ । अर्कोतिर समाचारमा जनताको प्राथमिक आवश्यकता (गास, बास, कपास, रोजगारी), द्धितियक आवश्यकता, (यातायात, बिद्युत श्रोत), पहिचानसम्बन्धी आवश्यकता (सांस्कृतिक तथा सामाजिक विविधता) बारे छलफल र समीक्षा हुनु पनि विकास पत्रकारिताको विकासका लागि अनिवार्य छ । सम्पादकीय प्रमुखहरूले लगानीकर्तालाई समेत विकासका एजेण्डामा सचेत गराउनु जरूरी छ । समग्रमा विकासका मुद्दालाई सरकारी प्रचारबाजीबाट टाँढा राख्दै आर्थिक तथा सामाजिक परिवर्तनको समग्र विश्लेषण हुनसके विकास पत्रकारितामार्फत देश विकासको अपेक्षा गर्न सकिन्छ । विकाससम्बन्धी समाचारको गहिराई हुन्छ भन्ने कुराको हेक्का सबैले राख्नुपर्दछ ।
(विगत १३ वर्षदेखि पत्रकारिता र आमसञ्चार क्षेत्रमा संलग्न पन्त हाल संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) अन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कायक्रम (LGCDP) मा सञ्चार विज्ञका रूपमा कार्यरत हुनुहुन्छ । )

0 comments:
Post a Comment